ट्रम्प अक्षम नेता भएको बाइडेन र ह्यारिसको भनाई
अमेरिकामा डेमोक्र्याटिक पार्टीका राष्ट्रपतिका उम्मेदवार जो बाइडेन र उपराष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिसले राष्ट्रपति डोनल्ड ट्रम्पलाई अक्षम नेताको संज्ञा दिएका छन् । उनीहरूले ट्रम्पले अमेरिकालाई जीर्ण बनाएको पनि दाबी गरे । बाइडेनले उपराष्ट्रपतिमा ह्यारिसलाई चयन गरेको भोलिपल्ट उनीहरू चुनावी अभियानमा सँगै देखिएका हुन् ।
राष्ट्रपति ट्रम्पले त्यसको प्रतिउत्तर दिँदै ह्यारिस आफ्नो राष्ट्रपति अभियानमा ’चट्टानजस्तै खसेको’ बताए । नोभेम्बरमा हुने चुनावमा बाइडेन र ट्रम्प राष्ट्रपतिका उम्मेदवार छन् । बुधवार विल्मिङ्टनमा भएको बाइडेनको चुनावी कार्यक्रम सर्वसाधारणका लागि खुला थिएन । बाइडेनले कोरोनाभाइरसबाट बच्नका लागि कार्यक्रम खुला नगरिएको बताए । दुवै उम्मेदवारले मास्क लगाएर मञ्चमा सामाजिक दूरी कायम गर्दै सम्बोधन गरे । हल्का वर्षा भइरहेका बेला करिब ७५ जना मानिसहरू कार्यक्रमस्थल बाहिर भेला भएका थिए।
रोयटर्स समाचारसंस्थाका अनुसार तीमध्ये केही बाइडेनका आलोचक पनि थिए । कार्यक्रमलाई सम्बोधन गर्दै बाइडेनले आगामी नोभेम्बरमा हामीले गर्ने चयनले धेरै लामो समयका लागि अमेरिकाको भविष्यको निर्णय गर्ने बताए । उनले ट्रम्पले पहिले नै ह्यारिसबारे नकारात्मक टिप्पणी गर्न थालिसकेको भन्दै उनको आलोचना गरे । उनले ट्रम्पले कोरोनाभाइरस सङ्क्रमण रोकथाम गर्न नसकेकोमा पनि आलोचना गरे ।
ह्यारिसले आफू काम गर्न तयार रहेको बताइन् । उनले अमेरिका नेतृत्वका लागि रोइरहेको बताइन् । उनले ट्रम्पको कडा आलोचना गरेकी थिइन् ।