मसालले पार्टी शुद्धिकरण र सुदृढीकरण अभियान संचालन गर्ने



नेपाल कम्युनिस्ट पार्टी (मसाल), केन्द्रीय कार्यालय
वक्तव्य
ने.क.पा. (मसाल)को यही २०७७ श्रावण २५ र २६ गते बसेको आकस्मिक बैठकले पार्टीको तात्कालिक सङ्गठनात्मक अवस्था र शुद्धीकरण कार्यक्रमबारे कतिपय दस्तावेजहरू पारित गर्नुको साथै कतिपय निर्णयहरू पनि गरेको छ ।

अहिले बसेको केन्द्रीय समितिको बैठकको मुख्य विषयवस्तु पार्टीमा असामान्य रूपमा देखापरेको सङ्गठनात्मक वा अनुशासनको अवस्था र शुद्धीकरण कार्यक्रमबारे विचार गर्नु नै थियो । केन्द्रीय समितिले यो ठहर गरेको छ कि पार्टीको अहिलेको सङ्गठनात्मक र अनुशासनको अवस्था असामान्य प्रकारको छ ।

महाधिवेशनको बेलामा पार्टीमा तीव्र प्रकारको अन्तरसङ्घर्ष चलेको थियो । तर त्यो एउटा जिवन्त पार्टीको लक्षण थियो र त्यसले हाम्रो पार्टीमा भएको उच्च जनवादलाई बताउँछ ।

महाधिवेशनपछि पार्टीमा अराजकता वा अनुशासनविहीनताका प्रवृत्तिहरू कैयौँ रूपमा देखापर्दै गए । हाम्रो पार्टीभित्र कायम भएको अनुशासन र एकताका तुलनामा त्यो गौण पक्ष थियो । तैपनि त्यो पार्टीको माक्र्सवादी–लेनिनवादी सङ्गठनात्मक प्रणाली र जनवादी केन्द्रीयताको सिद्धान्तका विरुद्धको कुरा हो । त्यसकारण त्यसले पार्टीभित्रको अनुशासन र एकता कमजोर पार्ने र पार्टीका राजनीतिक वा सङ्गठनात्मक जिम्मेवारीहरूलाई पूरा गर्न बाधा पुर्‍याउने कुरा स्पष्ट छ । त्यसैले त्यसमाथि विचार गर्न र त्यो अवस्थामा सुधार गर्न तथा माक्र्सवादी–लेनिनवादी सङ्गठनात्मक प्रणाली र जनवादी केन्द्रीयताअनुसार पार्टीभित्रको अनुशासन र एकतालाई सुदृढ पार्न केन्द्रीय समितिको आकस्मिक बैठक बसेको थियो र त्यसले त्यसबारे कैयौँ महत्त्वपूर्ण निर्णयहरू गरेको छ ।

विश्व कम्युनिस्ट आन्दोलनमा नै आवश्यकताअनुसार सुदृढीकरण वा शुद्धीकरणका कार्यक्रमहरू गर्ने गरिन्छन् । त्यसअनुसार हाम्रो पार्टीले पनि गतकालमा कैयौँपल्ट सुदृढीकरण र शुद्धीकरण कार्यक्रमहरू गर्ने गरेको छ ।

हाम्रो पार्टीमा महाधिवेशनभन्दा पहिले सुदृढिकरण कार्यक्रम सम्पन्न गरिएको थियो । महाधिवेशनले शुद्धीकरण कार्यक्रम गर्ने निर्णय गरेको थियो । त्यसको करिब डेढ महिनापछि बसेको केन्द्रीय समितिको बैठकले शुद्धीकरण कार्यक्रमबारे निर्देशिका र ठोस कार्यक्रम निश्चित गरेको थियो । गत सालको पुषमा बसेको राष्ट्रिय परिषद्को बैठकले साउनमा बसेको केन्द्रीय समितिको शुद्धीकरणसम्बन्धी कार्यक्रमलाई अनुमोदन गरेको थियो । त्यसअनुसार अहिले बसेको केन्द्रीय समितिको बैठकले त्यसलाई कार्यान्वयन गर्नका लागि ठोस निर्णयहरू गरेको छ ।

प्रतिक्रियावादी वा बुर्जुवाहरूले कम्युनिस्ट पार्टीभित्र चल्ने शुद्धीकरणको कार्यक्रमलाई पार्टीभित्रका भिन्न मत राख्ने वा विरोधीहरूलाई दमन गर्ने तरिका भनेर त्यसको विरोध गर्ने गरेका छन् । उनीहरूले त्यसलाई (शुद्धीकरण कार्यक्रमलाई) तानाशाही वा आतङ्कको संज्ञासम्म बताउने गरेका छन् । त्यसअनुसार उनीहरूले रूस र चीनका कम्युनिस्ट पार्टीमा लेनिन, स्तालिन वा माओको नेतृत्वमा भएका शुद्धीकरण कार्यक्रमहरूलाई पनि त्यही रूपमा आलोचना गर्ने गरेका छन् ।

एउटा कम्युनिस्ट पार्टीको लागि बिचबिचमा शुद्धीकरण कार्यक्रम एकदम आवश्यक वा कतिपय अवस्थामा निर्णयात्मक महत्त्वको कुरा हुन्छ । बेग्लाबेग्लै समयको स्थिति वा आवश्यकताअनुसार बेग्लाबेग्लै समयका शुद्धीकरण कार्यक्रमहरूका उद्देश्यहरू बेग्लाबेग्लै हुन्छन् । अहिलेको हाम्रो शुद्धीकरण कार्यक्रमको मुख्य उद्देश्य पार्टीमा देखापरेको अराजकता वा अनुशासनविहीनताको अवस्थामा सुधार गर्नु र पार्टीको सङ्गठनात्मक अवस्थालाई सुदृढ गर्नु नै हो ।

महाधिवेशनपछि देखापरेका अनुशासनविहीनताका कतिपय प्रवृत्तिहरूलाई हामीले अनुशासनको कारवाहीद्वारा हल गर्ने प्रयत्न गरेका थियौँ र त्यस सिलसिलामा कतिपय व्यक्तिहरूलाई पार्टीबाट अनिश्चित कालको लागि निस्कासित समेत गरेका थियौँ । तर त्यसप्रकारका हाम्रा अनुशासनका कारवाहीहरूलाई अराजकतावादी वा अनुशासनविहीन तत्वहरूले पार्टीभित्रका भिन्नमत राख्ने व्यक्तिहरूमाथिको दमनका रूपमा व्याख्या गर्दै आएका छन् र त्यसलाई तानाशाही तरिका पनि बताउँदै आएका छन् । तर पार्टीको सङ्गठनात्मक प्रणाली जनवादी केन्द्रीयताको सिद्धान्तको सामान्य रूपमा ज्ञान भएको मान्छेबाट पनि यो लुकेको कुरा होइन कि पार्टीको लेनिनवादी सङ्गठनात्मक प्रणाली वा त्यसमाथि आधारित विधान र अनुशासनको खुला प्रकारले उल्लङ्घन गर्ने व्यक्तिहरूका विरुद्ध त्यसप्रकारको अनुशासनको कारवाही अनिवार्य नै हुन्छ ।

तर सबैलाई त्यसरी अनुशासनको कारवाही गर्नुपर्ने आवश्यकता हुँदैन र त्यसप्रकारका अनुशासनका कैयौँ कारवाहीहरू आन्तरिक र सामान्य हुन्छन् र तिनीहरूको प्रकृति मुख्य रूपले मैत्रीपूर्ण नै हुन्छ । हाम्रो शुद्धीकरणको कार्यक्रमलाई पनि मुख्य रूपले त्यही रूपमा बुझ्नुपर्दछ ।
पार्टीको लेनिनवादी सङ्गठनात्मक प्रणालीअन्तर्गत पार्टीको कुनै पनि सदस्य इमान्दार वा पार्टीको सिद्धान्तमाथि उसको आस्था भएपनि त्यति गुण नै पार्टीको सदस्यताका लागि पर्याप्त हुँदैन । उनीहरू पार्टीको कमिटीमा बसेर अनुशासित प्रकारले सक्रिय पनि हुनुपर्दछ । तर कतिपय पार्टी सदस्यहरू शारीरिक अवस्था, व्यवहारिक समस्या वा स्प्रिटको कमी भएपछि वा कतिपय बेलामा विभिन्न प्रकारका भ्रमहरूका कारणले पनि उनीहरूको सक्रिय हुने वा अनुशासनमा बस्ने क्षमतामा कमी आउन थाल्दछ । त्यो अवस्थामा उनीहरूलाई पार्टीको कुनै समिति वा सदस्यबाट समेत हटाएर समर्थक ग्रुपमा मात्र राख्नुपर्ने आवश्यकता हुन्छ र अपवाद अवस्थामा नै कसैलाई अनिश्चित कालको लागि पार्टीबाट निस्कासित पनि गर्नुपर्ने आवश्यकता हुन्छ । ती आवश्यकताहरू पूरा गर्न नै शुद्धीकरण कार्यक्रमको सञ्चालन गरिन्छ । उपरोक्त विषयहरूमा अहिले बसेको केन्द्रीय समितिले कैयौँ महत्त्वपूर्ण निर्णयहरू गरेको छ ।

आठौँ महाधिवेशनपछि करिब ८ महिनाको अवधिमा हाम्रो पार्टीले पार्टीभित्र वा जनताका बीचमा देशव्यापीरूपमा व्यापक रूपमा प्रशिक्षण, आन्दोलन वा सङ्गठनात्मक अभियानका कार्यक्रमहरूको सञ्चालन गरेको थियो । पार्टीका बैधानिक मोर्चा वा जनवर्गीय सङ्गठनहरूले व्यापक कार्यक्रम बनाएर अगाडि बढिरहेका थिए । तर कोरोना भाइरस वा लकडाउनका कारणले हाम्रा कार्यक्रमहरू त्यही रूपमा अगाडि बढ्न सकेनन् । अहिले पनि कोरोना भाइरसले पैदा गरेको त्यसप्रकारको स्थिति कायम नै छ ।

तर त्यो कठिन र प्रतिकूल स्थितिका बाबजुद हाम्रो पार्टीले कैयौँ महत्त्वपूर्ण प्रश्नहरूमा, जस्तो कि एमसीसी, लिपुलेक, काला पानी र लिम्पियाधुरा समेतबारे आफ्नै पहलकदमीमा वा अन्य वामपन्थी र देशभक्तहरूसँग मिलेर आन्दोलनका कार्यक्रमहरू सञ्चालन गर्ने गरेको छ । संसदभित्र पनि हामीले ती प्रश्नहरूमा लगातार सङ्घर्ष चलाउने गरेका छौँ । त्यही प्रकारले हामीले अनलाइन, जुम वा अन्य सबै सम्भव साधनहरूको प्रयोग गरेर विभिन्न स्तरमा सम्पर्क वा बैठकहरू नियमित रूपमा गरेका छौँ । सबै राष्ट्रिय वा सामयिक प्रश्नहरूमा पार्टीका नीतिहरू स्पष्ट गर्ने कार्य गर्दै आएका छौँ । हाम्रा वैधानिक मोर्चा वा जनवर्गीय सङ्गठनहरूले पनि विभिन्न राजनीतिक वा सामयिक विषयहरूबारे लगातार आफ्ना दृष्टिकोणहरू स्पष्ट गर्ने र सम्भव भएसम्म विभिन्न स्तरमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन् । संसद वा त्यसका विभिन्न समितिहरूमा पनि पार्टीको नीतिलाई अगाडि बढाउने कार्य सन्तोषजनक प्रकारले भइरहेको छ । यस बिचमा रुकुममा जातीय भेदभावको आधारमा घटेको हत्याकाण्डको छानवीनमा समेत वैधानक मोर्चाका सांसदद्वारा महत्त्वपूर्ण कार्य भएको छ ।
तर त्यो कुरालाई पनि हामीले स्वीकार गर्नुपर्दछ कि कोरोना भाइरस वा लकडाउनका कारणले पैदा भएको अत्यन्त प्रतिकूल स्थितिका कारणले हाम्रा सबै कार्यक्रमहरू सन्तोषजनक प्रकारले अगाडि बढ्न सकिरहेका छैनन् ।

कोरोना भाइरसले तयार पारेको प्रतिकूल स्थिति अहिले पनि कायम छ । त्यसले गर्दा हाम्रा सबै कार्यक्रमहरूलाई नियमित रूपले अगाडि बढाउन हामीलाई मुस्किल पर्ने कुरा स्पष्ट छ । तैपनि सबै सम्भव तरिकाले वा जुम र अनलाइन समेतको प्रयोग गरेर विभिन्न प्रकारका प्रशिक्षण, सङ्गठनात्मक कार्य वा आन्दोलनका कार्यक्रमहरूलाई अगाडि बढाउन प्रयत्न गर्ने केन्द्रीय समितिले निर्णय गरेको छ ।
केन्द्रीय समितिले समसामयिक विषयहरूमा कतिपय प्रस्तावहरू पनि पारित गरेको छ, जसलाई बेग्लै सार्वजनिक गरिंदै छ ।
२०७७ साउन २८ गते
मोहनविक्रम सिंह
महामन्त्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच द्धिपक्षीय वार्ता हुँदै

काठमाडौं । दुई दिने नेपाल भ्रमणका लागि मंगलबार काठमाडौं आएका कतारका अमिर शेख

एमालेका कारण सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार र सरकारको स्थायित्वका बारेमा आशङ्का

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ । नेकपा (एकीकृत समाजवादी)पार्टी,

नेपालमा सहयोगका थप क्षेत्रहरु पहिचानका लागि यो भ्रमण उपलब्धीमूलक हुने कतारी अमिरको विश्वास

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने,

राष्ट्रपति पौडेल र कतारका अमिरबीच शीतल निवासमा भेटवार्ता

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल